बोलेरो र टेम्पो ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ हाफपाइन्ट चोकमा बोलेरो गाडी र अटो टेम्पो ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

दुर्घटनामा अटोमा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। गम्भीर घाइते भएकी उनलाई बुधबारेस्थित सीटी अस्पतालमा प्रारम्भिक उपचार गरी प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा परी अटोमा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन्। सबैको सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चारआलीबाट इलाम जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो आपसमा ठोक्किएर बिहान करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *