संस्मरण कृति ‘राहदानी’ लिएर आए अधिकारी
काठमाडौं। लेखक राजु अधिकारीको यात्रा संस्मरण ‘राहदानी’ प्रकाशित भएको छ। कथा र उपन्यास लेखनमा सक्रिय अधिकारीले सातौं कृतिका रुपमा पछिल्लो पटक यात्रा संस्मरण ल्याएका हुन्।
दुई दशकभन्दा बढी समयमा आफूले यात्रा गरेका विभिन्न देशमा देखे, भोगेका अनुभवलाई उनले पुस्तकको रूपमा ल्याएका छन्। दाङको घोराही निवासी अधिकारी चीनको सांघाइमा बस्दै आएका छन्।
नेपाली राहदानी वाहकहरूले भिसा आवेदनमा र विदेशका अध्यागमनमा भोग्नुपर्ने समस्याको बारेमा पनि उनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
राहदानीका कारण आफूले भोग्नु परेका केही तीता भोगाइलाई आधार बनाएर पुस्तकको शीर्षक ‘राहदानी’ राखिएको अधिकारीको भनाइ छ।
पुस्तकमा लेखकले विदेशमा आफूले भोगेका रोचक प्रसङ्गहरू पस्केर पाठकलाई मनोरञ्जन पनि दिन खोजेका छन्।
चौध वटा यात्रा संस्मरण समेटिएको पुस्तकले विदेशमा कस्ता अनपेक्षित समस्याहरू आउन सक्छन् र ती समस्याबाट बच्न अपनाउनुपर्ने तयारी र सावधानीप्रति पनि सजग गराएको छ।
‘थुप्रै सोलुसन’ ले प्रकाशनमा ल्याएको पुस्तक मुद्रित संस्करण र इ–बुकमा उपलब्ध छ। पुस्तक थुप्रै डट कमको वेबसाइट र मोबाइल एपमा इ–बुकको रूपमा संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ।
अधिकारीका यसअघि छवटा कृति सार्वजनिक भइसकेका छन्। ‘लावण्य देश’ कथा संग्रह तथा उपान्यासहरू ‘राज्याभिषेक’, ‘धुवाँको तस्बिर’ र ‘सत्यहरण’ यसअघि प्रकाशित भइसकेका हुन्।
यसैगरी, राज्याभिषेकको अंग्रेजी संस्करण ‘कोरोनेसन’ र ‘द लास्ट ड्रिम’ अंग्रेजी भाषामा लिखित कृति पनि प्रकाशित भइसकेका छन्।
