पुसको चिसोमा पनि पाथीभरामा तीर्थयात्रीको लर्को

ताप्लेजुङ। चिसो अत्यधिक हुँदा पनि तीर्थयात्रीहरु प्रसिद्ध पाथीभरा आउने क्रम बढेको छ। बेला बेला हिउँ परेर धेरै चिसो हुने मौसममा यसअघि उति धेरै तीर्थयात्री आउँदैन थिए।

पुस महिनाभर पाथीभरा मन्दिर पुग्ने तीर्थयात्रीको संख्या उल्लेख देखिएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो महिना ६ हजार ४ सय २७ जना तीर्थयात्री आएका छन्। उनीहरुबाट २९ लाख २५ हजार रुपैयाँ भेटी रकम संकलन भएको छ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्षको तुलनामा यो संख्या बढी हो। गत वर्ष ४ हजार ५ सयको हाराहारीमा मात्रै तीर्थयात्री आएका थिए।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चिसो याममा तीर्थयात्री कम आउने गरेको विगतको तथ्यांक छ। यो समयमा यहाँको तापक्रम माइनस हुने गरेको छ।

पछिल्ला समय हिउँ पनि खेल्न पाइने र मन्दिरमा दर्शन पनि हुने भन्दै आउनेको संख्या बढेको स्थानीयको भनाइ छ। अघिल्ला वर्षहरुमा धेरै चिसो भएका बेला निकै कम मात्र तीर्थयात्री आउने गरेको फुङलिङका धर्म पौड्याल बताउँछन्।

पाथीभरामा वार्षिक ३ लाखसम्म तीर्थयात्री आउने र ४ करोड रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *