ओलीको कार्यशैलीको विरोध गर्दा पूर्वसांसद कारबाहीमा

विराटनगर। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा एमाले नेता तथा कोशी प्रदेशका पूर्वसांसद बिमल कार्कीमाथि कारबाही गरिएको छ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न गरेका उनलाई निलम्बनको कारबाही गरिएको हो। एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार कार्की ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

फेसबुकमा निरन्तर स्टाटस लेखेर विरोध गर्ने गरेको भन्दै कार्कीमाथि कारबाही भएको एक नेताले जनाएका छन्। प्रदेश सचिव भण्डारीले स्टाटस लेख्ने गरेको साथै अरु पनि केही कारणले गर्दा कारबाही गरिएको बताए।

प्रदेश कमिटीको सचिवालय बैठकले ६ महिना निलम्बन गर्ने निर्णय गरेकामा त्यसलाई प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो। ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो।

पूर्वसांसद कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन्। उनी २०७४ को निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यापारी मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको पार्टीका कतिपय नेताहरुले विरोध गर्दै आएका छन्।

त्यस्तो गर्नु नहुने, पार्टीले आफ्नै स्रोतबाट बनाउनु पर्ने धारणा राख्दै ओलीको कार्यशैलीको विरोध र आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका छन्। यसैगरी, पार्टीले नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *