रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन जिल्ला अदालत काठमाडौंले आइतबार आदेश दिएको छ।

लामिछानेविरुद्ध पछिल्लो पटक काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो। त्यही मुद्दाको बयानका लागि आइतबार काठमाडौं अदालतमा उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।

प्रहरीले लामिछानेलाई सोमबार पुनः अदालत उपस्थित गराउनुपर्ने भनिएको छ। अदालतमा आइतबार दिनभर लामिछानेको बयान भएको थियो। बयान सकिए पनि मुद्दाको थुनछेक बहस हुन पाएन। लामिछानेको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए।

सरकारी वकिलहरुले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनेपछि न्यायाधीश अधिकारीले सोमबार पुनः उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौं अदालतको आदेशबाट न्यायिक हिरासतमा जाने भएका छन्।

उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिने भएको छ। सोमबार पुनः अदालत पेस गरिने र बिहान ११ बजेबाट थुनछेक बहस हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *