कार र स्कारपियो ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठ र कार चालक हेटौंडा–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा शनिबार दिउँसो ठोक्किएका थिए।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा १४ जना घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भएको उनले जानकारी दिए ।
कारलाई ठक्कर दिने स्कार्पियो चालक रौतहट घर भई पर्साको वीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कारमा सवार चितवनको राप्ती–२ गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगञ्ज–२ छपकैया की २६ वर्षीया पूजा देवी शाह, सोही ठाउँकी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी र २१ वर्षीया निशाकुमारी शाह घाइते भएका छन् ।
यसैगरी, बीरगञ्ज–२ का १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
