‘विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्नुपर्छ’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय भित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

विश्वविद्यालय भित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्ने गरी विधेयक ल्याउनुपर्ने मन्त्री भट्टराईको भनाइ छ । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उनले बताइन् । अब विश्वविद्यालय कस्तो हुने भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने मन्त्री भट्टराईले उल्लेख गरिन् ।

‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या गर्यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो भन्ने कुराको परिभाषा गर्यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *