धान उत्पादन बढ्यो: यो वर्ष ५९ लाख ५५ हजार मेट्रिकटन
काठमाडौं । यो वर्ष धान उत्पादन बढ्ने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढ्ने भएको हो ।
चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । यो गत वर्षको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी रहेको जनाइएको छ ।
धान खेतीको क्षेत्रफल घटे पनि उत्पादकत्व बढेकाले उत्पादन वृद्धि भएको मन्त्रालयको भनाइ छ । वर्षे र चैते दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ ।
चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्वि भएको छ । बाँकी तीन प्रदेशमा भने केही कमी आएको छ ।
