बिर्तामोडको अन्तर्राष्ट्रिय महोत्सवमा बंगलादेश र पाकिस्तान पनि सहभागी हुने
झापा । आर्थिक गतिविधि बढाउने उद्देश्यले झापाको बिर्तामोडमा माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ ।
महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार भागमा विभाजन गरिएको छ । महोत्सव माघ १९ गतेसम्म आयोजना हुने बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा १५० वटा स्टल रहने र छुट्टाछुट्टै चार विधाका स्टल राखिने संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यपारसँगै कृषि क्षेत्रको उत्थानका लागि समेत कृषि उत्पादनलाई प्रवर्द्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने भएको छ ।
झापाकै ठूलो बजारका रुपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवर्द्र्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।
प्रदर्शनी कक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।
विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।
महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पाकिङको व्यवस्था हुने संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । महोत्सव बिर्तामोड–५ धर्मकाँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए । महोत्सवको दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
