विद्यार्थीले घरमा गरेको कामको पनि अंक पाउने
काठमाडौं । विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । विज्ञसँग छलफल गरेर १५ दिनभित्र मूल्यांकन विधिको प्रस्ताव ल्याउन भनिएको उनले बताइन् ।
परीक्षामा के कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न लागेको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङ्कनको विधि छिट्टै बनाउने बताए । शैक्षिकसत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेको उनको भनाइ छ ।
विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइबहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउने जनाइएको छ । लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भए त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो ।
