घडी छ, समय छैन
समय बेचेर नै चलिरहेका छन्
बजारका घडी दोकानहरू
ग्राहकहरू पनि घडी किनेर समय बेच्दैछन् ।
न घडीसँगै समय किन्न सकियो
न घडी बेचेर समय किन्न सकियो
घडी कारोबारका नाममा
समय आफैँ बेचिइरहेको छ निरन्तर ।
शहरका बीच अग्ला टावर
र, घरका भित्तामा टाँसिएर
नाडीमा लपक्क बेरिएर होस् या
विद्युतीय स्क्रीनहरुमा जेलिएर
मागेर भागेर आएका समय नाप्ने घडीहरू
समयकै भाउमा बेचिइरहेका छन् ।
के घडीमा समय अटाउन सक्दैन ?
यदि अटाउँदैन भने
किन घडीका सुइहरु
उसकै फन्का लगाइरहन्छन् एकतमास ?
हेक्का छैन कि उसलाई
बेचिएर र किनिएर आफैँ रित्तिँदै छ ।
विगत र वर्तमान र भविष्य पनि
जन्म र जीवन र मृत्यु जस्तै फन्का मारेर
आउँदै–जाँदै र जाँदै–आउँदै
समयकै परिक्रमा गरेर बितिरहेको छ समय
टाँसिएर र बेरिएर र जेलिएर
भेटिन्छ– देखिँदैन र देखिन्छ–भेटिँदैन
आकास जस्तै, हावा जस्तै
समय पनि शून्य शून्य नै त रहेछ
गहिरो शून्यता र फराकिलो शून्यता
शून्यताभित्रका अनेक शून्यताहरु जस्तै ।
घडीले न समय फर्कायो
न जवानी नै पर्खायो
किन्न खोज्दा खोज्दै, जिउन खोज्दाखोज्दै
समय बेचिँदै पो किनिएछ
घडीको सुइसँगै जिन्दगी बेचिएछ
अहिले घडी नै घडीको दोकान छ
तर समय छैन !

धेरै राम्रो कबिता बिष्णु सर l
धन्यबाद सर 🙏🙏🙏