पूविविका क्याम्पसहरुमा पाँच दिवसीय खेल प्रतियोगिता
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी, जनसंख्या तथा विकास केन्द्र र ‘कलेज अफ ल’ मा पाँच दिवसीय खेल प्रतियोगिता शुरू भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आइतवारदेखि विभिन्न खेलहरु शुरू भएको हो । खेलहरु पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
यसअनुसार समूहगत खेलतर्फ भलिवल, फुटवल, क्रिकेट, कबड्डी र डोरी तान प्रतियोगिता आयोजना हुनेछन् भने व्यक्तिगत खेलतर्फ टेबल टेनिस, चेस, सर्ट फुट, व्याडमिन्टन र एक सय मिटर दौड प्रतियोगिता हुनेछ ।
सबै खेलहरू छात्र र छात्राहरूको सहभागिता छ । विद्यार्थीहरूको मानसिक र शारीरिक विकासका लागि खेलकुद आवश्यक रहेकोले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि क्याम्पसले पञ्चदिवसीय खेल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए । विजयी खेलाडीहरूलाई सरस्वती पूजाको दिन पुरस्कृत गरिने कार्यक्रम छ ।

