रवि लामिछानेविरुद्ध सहकारी ठगीमा आज मुद्दा दर्ता गरिँदै
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज आइतबार जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गर्ने तयारी गरिएको छ ।
लामिछानेसँगै ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । अन्य प्रतिवादीविरुद्ध आज मुद्दा गरिने भएको हो ।
मुद्दा दर्ता भएका प्रतिवादीहरू फरार छन् । १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई सङ्गठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राष्ट्र बैंक कसुर थपिएको थियो ।
