पर्याप्त बिजुली नपाउँदा औद्योगिक क्षेत्र प्रभावित

विराटनगर । लामो समयसम्मको लोडसेडिङका कारण फेरि समस्या हुन थालेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । सुनसरी–मोरङको औद्योगिक क्षेत्रमा दैनिक आठ घण्टासम्म लोडसेडिङ हुन थालेको उनीहरुको भनाइ छ ।

पर्याप्त बिजुली नआउँदा उत्पादन कटौती गर्न बाध्य हुनुपरेको भन्दै उनीहरुले यसले गर्दा बजारमा वस्तु अभाव हुने, मूल्य बढ्ने, बेरोजगारी बढ्ने र चोरीपैठारी बढ्ने खतरा बढेको दाबी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले भने लोडसेडिङ गरिएको छैन भन्दै आएको छ । प्राधिकरणका अधिकारीहरुले मूल्य बढाउन उद्योगीले नै लोडसेडिङको हल्ला चलाएको आरोप समेत लगाएका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा प्राधिकरणले हाल बिहान पाँच बजेदेखि नौ बजेसम्म र साँझ पनि पाँच बजेदेखि नौ बजेसम्म गरी दैनिक आठ घण्टा बिजुली काट्न थालेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल बताउँछन् ।

प्राधिकरणले बिजुली दिएको समयमा पनि झ्यापझ्याप बिजुली जानेआउने भइरहने साथै आउँदा पनि कम भोल्टेजमा गुणस्तरहीन बिजुली आउने गरेको रिजालको भनाइ छ ।

लोडसेडिङको मार सबै उद्योगमा परे पनि सबैभन्दा बढी मारमा स्टिल, सिमेन्ट र प्लाष्टिक उद्योग परेका छन् । उत्पादनको क्रममा रहेको कच्चा पदार्थ बिग्रिने, मेसिन तताउन नै दुई तीन घण्टासम्म लाग्ने भएकाले सबैभन्दा बढी क्षति यी उद्योगलाई भएको हो ।

लोडसेडिङका कारण उद्योगले दुई तिहाइ उत्पादन कटौती गरेका मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ । पर्याप्त बिजुली नआएर उत्पादन प्रभावित हुँदा बजारमा वस्तुको अभाव हुने, मूल्यवृद्धि हुने र चोरी पैठारी बढ्न सक्ने राठी बताउँछन् ।

यो औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा २ ६० मेगावाट बिजुलीको माग छ । गत बर्षा याममा बिग्रिएको माथिल्लो तामाकोशी जलविद्युत परियोजनाबाट अझै उत्पादन सुरु नभएको, काबेलीको १९५ मेगावाट क्षमता भए पनि ५० मेगावाट मात्र उत्पादन भइरहेको, कोशी करिडोरको १२५ मेगावाट क्षमता भए पनि ४५ मेगावाट मात्र उत्पादन भएका कारण केही समस्या भएको प्राधिकरणले बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *