सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बन्यो एनपीएल च्याम्पियन

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक–एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।

सुदूरपश्चिम अङ्क तालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो ।

एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *