चर्चित ब्रान्डका साबुन र डिटरजेन्टको नाममा नक्कली धन्दा
विराटनगर । भारतका नाम चालेका लुगाधुने डिटरजेन्ट पाउडर र नेपालमै उत्पादित लुगा धुने साबुनको नक्कली प्याकेजिङ गरी विराटनगरसहित पूर्वका बजारमा बिक्री गर्ने गरेको खुलेको छ ।
नक्कली प्याकेजिङ गरेर सुनसरी र मोरङका बजारका पसल र हाटबजारमा बिक्री गर्दै गरेको अवस्थामा सक्कली ब्रान्डका प्रतिनिधिहरुले उनीहरुलाई प्रशासनको जिम्मा लगाएका छन् ।
विराटनगर–५ स्थित युनिक लिकुइड सोप एण्ड डिटरजेन्ट प्रोडक्ट्सले एउटा घर गोदाममा भाडामा लिएर भारतका नाम चलेको यूनिक फेना, डाक्टर वाइट, पतञ्जली, टाइडलगायतका डिटरजे्न्टको पूरै मिल्ने रंग, लोगोलगायत नक्कली प्याकेट बनाएर बजार बिक्री गर्ने गरेको पाइएको छ ।
भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङमा यूनिक फेना र पतञ्जलीको पातजली, डीआर वाइटलगायत बिक्री गरिँदै आएको पाइएको हो ।
ती सामानको बाहिरी खोली नक्कली छन् । सामानको गुणस्तर जाँच भएको छैन । जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन टोलीले सिटी सफारीमा राखेर बिक्री गर्न लगिएको सबै सामान जफत गरेको छ ।
नेपालमै उत्पादित धोनी साबुनजस्तै लाग्ने गरी ‘धोबी’ नाम राखेर साबुन बिक्री गरेको पनि पाइएको छ । भारतबाट फेना सर्फ विराटनगरस्थित श्रीकृण्ण ट्रेडर्सले बिक्री गर्दै आएको यसका प्रतिनिधि अरुण जैनका अनुसार फेनाको एक किलोको मूल्य १२५ रुपैयाँ छ । यूनिक फेनाले उस्तै प्याकेजिङमा १३० मूल्य राखेर बजारमा बिक्री गर्दै आएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका नायव सुब्बा प्रमेश्वर भट्टराईले विराटनगर–१२ को एउटा पसलमा यहाँबाट प्याकिङ गरिएको साबुन र सर्फ नक्कली भन्ने सूचना प्राप्त भएपछि अनुगमनका क्रममा कैफियत भेटिएको बताए ।
उद्योग धनीहरु सम्पर्कमा नआएको र फेला नपरेको हुँदा उद्योगमा सिलबन्दी गरेर थप अनुसन्धान अघि बढाएको भट्टराईले बताए ।
