चितवनलाई हराउँदै कर्णाली पुग्यो ‘क्वालिफायर टु’
काठमाडौं। चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘क्वालिफायर टु’ मा पुग्न सफल भएको छ।
एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो। कर्णालीले अब ‘क्वालिफायर वान’ मा पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो। चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन। जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २(२ विकेट लिए। विपिन प्रसाद शर्माले १ विकेट लिए।
बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए। एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो। कप्तान कुशल मल्लले २१ रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो। एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए। यस्तै, बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए।
चाडविक वाल्टनले अविजित ४६ रन जोडे। २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। जिसन मक्सुदले १४ रन योगदान गरे।
बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए।
