सुदूरपश्चिमले कर्णालीलाई हरायो, यस्तो छ प्लेअफ समीकरण
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज भएको खेलमा कर्णाली याक्स सुदूरपश्चिमसँग पराजित भएको छ । पराजित भए पनि कर्णाली याक्स प्लेअफमा पुगेको छ ।
कर्णालीले नेट रन रेटमा काठमाडौँ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाडौँ लिग चरणबाटै बाहिरिएको छ । आजको खेलमा कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए ।
ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १–१ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो । कर्णालीका जीशान मक्सूदले ३० रन बनाए । सुदूरपश्चिमका हरमीत सिंहले ३ विकेट लिए ।
कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाडौँ प्लेअफमा पुग्ने समीकरण बनेको थियो । योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।
अब बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
बुधवार दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
दोस्रो क्वालिफायर खेल बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिनेछ । एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
