लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल हुँदैछ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यस अघिका ६ खेलमा हार ब्यहोरेको लुम्बिनी ‘प्लेअफ’ पुग्न असफल टिम बनिसकेको छ । त्यसैले लुम्बिनीका लागि लिगको अन्तिम खेल हुनेछ । यसअघि ५ खेल खेलेको कर्णाली याक्सले ३ खेलमा जित हात पारिसकेको छ । ६ अंकसहित कर्णाली पाँचौं स्थानमा छ ।
शीर्ष चार टिम रहने ‘प्लेअफ’ मा यसअघि जनकपुर बोल्ट्सले स्थान बनाइसकेको छ । अबका खेल खेल्न ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ५ खेल खेल्दा ४ खेलमा पराजित विराटनगरको शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना करिब सकिएको छ ।
टिम कर्णाली याक्सः देव खनाल, बाबर हायत, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिस सिंह ठकुरी
टिम लुम्बिनी लायन्सः अर्जुन साउद, उन्मुक्त चन्द, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, विवेक यादव, विकास आग्री, अभिशेष गौतम, तिलक भण्डारी, रामोन सिमोण्ड्स, आरिफ खान
