जनकपुर प्लेअफमा, सुपर ओभरमा विराटनगर पराजित
काठमाडौँ । काठमाडौंँ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको दोस्रो खेलमा जनकपुरले काठमाडौँलाई हराएको हो ।
काठमाडौंँले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले २७, हर्ष ठाकरले नटआउट २५ रन बनाए । काठमाडौँका कप्तान करण केसीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाडौँका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।
यो जीतसँगै जनकपुर ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । काठमाडौँ ५ खेलमा ४ अङ्कसहित पाँचौं स्थानमा छन् ।

यसअघि बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्यो । सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रनमात्र बनाउन सक्यो ।
यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपीएलमा यो पहिलो सुपर ओभर हो । पोखराका आन्द्रेस गौसले ३९, रेमोन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २–२ विकेट लिए । यो जीतसँगै पोखरा ५ खेलमा ४ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।
