काठमाण्डूसँग १८ रनले लुम्बिनी पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बुधबार भएको खेलमा काठमाण्डू गुर्खाजले लुम्बिनी लायन्सलाई हराएको छ । १८ रनले पराजित भएसँगै लुम्बिनी ‘प्लेअफ’ होडबाट बाहिरिएको छ ।

६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार ब्होरेको छ । काठमाण्डूको भने ४ खेलमा दोस्रो जित हो । उसले ४ अंक जोड्दै प्लेअफ सम्भावना कायम राखेको छ ।

काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक २६ रन बनाए । उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा काठमाण्डूका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए । जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने रासिद खानले १ विकेट लिए । शाहब आलमले विकेट नलिएपनि ४ ओभरमा १० रन मात्र खर्चिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डूले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो । काठमा्ण्डूका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।

बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारे ।

सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्ट्स ७२ रनले पराजित

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको छ । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयो ।

एनपीएलमा यो सबैभन्दा कम योगफल हो । यसअघि चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएको थियो ।

जनकपुरका जोशुआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २-२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *