सवारी दुर्घटनामा ३ जनाको मृत्यु
पृथ्वी राजमार्गस्थित कृष्णभीरमा दुर्घटनाग्रस्त ट्रक
काठमाडौँ । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टीकापुर, गोदावरी र धनगढी उपमहानगरमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार चालक टीकापुर–१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, पृथ्वी राजमार्गस्थित कृष्णभीरमा ट्रक पल्टँदा चालक घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०३–००२ख ०३१४ नम्वरको ट्रक अनियन्त्रित भई सडकबाट खसेको हो ।
ट्रक चालक बाराको गढिमाई नगरपालिका–१५ का २८ वर्षीय सुमन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
