एनपीएलमा आजः चितवन-लुम्बिनी, कर्णाली-पोखरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज मंगलबार दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको एनपीएलका खेल हिजो विश्रामपछि आज हुन लागेको हो ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । हालसम्म चार खेल खेलेकोमा तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

आजको दोस्रो खेलमा कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

अंकतालिकामा पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *