उँधौली पर्व: धरानमा पाँच दिने उत्सवको तयारी
सुनसरी । आदिवासी समुदायको उँधौली पर्वका अवसरमा धरानमा चासोक तङनाम उत्सव मनाइने भएको छ । पाँच दिनसम्म मनाइने उत्सवलाई उल्लासपूर्ण बनाउने तयारी भइरहेको छ ।
प्रकृति पूजक आदिवासीहरुको पर्व याक्थुङ-लिम्बु समुदायले चासोक तङनामको रूपमा मनाउँछन् । धरानमा प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङको आयोजनामा धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा सांस्कृतिक मेला हुँदै आएको छ ।
मंसिरे पूर्णिमा ३० गते सुरु हुने चासोक तङनाम उत्सवको तयारी धमाधम भइरहेको चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए । उनका अनुसार बिहीबार बसेको चुम्लुङ केन्द्रीय, जिल्ला, नगर तथा वडा समितिका पदाधिकारीहरूको संयुक्त बैठकले उत्सव सञ्चालनका लागि १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

उत्सवका लागि चुम्लुङ हिम परिसरमा २१ वटा स्टलहरू रहने छन् । प्रत्येक साँझ आयोजना हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार सहित याक्थुङ, लिम्बु कलाकारहरूद्वारा गायन तथा नृत्य प्रदर्शन हुनेछ । यसपालि लिम्बु समुदायको लोकप्रिय ‘धान नाच’ प्रतियोगिता पनि आयोजना गरिने भएको छ । यस्तै, परम्परागत बाजा च्याब्रुङ प्रतियोगिता हुनेछ ।
परम्परागत खेलकुद प्रतियोगिता, कपडा बुन्ने ‘थाकथाक्मा’ प्रतियोगिता पनि आयोजना हुने जनाइएको छ । चासोक तङनाम उत्सवको अवसरमा याक्थुङ-लिम्बु जातिको पहिरन, च्याब्रुङ सहित सांस्कृतिक र्याली प्रदर्शन गरिने छ ।
पूर्णिमाकै दिन किरात सिरिजंगा लिपिका प्रवर्द्धक सिरिजंगा जयन्ती पनि मनाइने भएको छ । धरान-८ सिरिजंगा (तीनकुने) चोकस्थित सिरिजंगाको शालिकमा माल्यार्पण र च्याब्रुङ नृत्य गर्दै परिक्रमा गरी जयन्ती मनाइने किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले जनाएको छ ।
