पूर्वाञ्चल विश्वविद्यालयमा बाल विकाससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिने

विराटनगर । विराटनगर घोषणापत्र जारी गर्दै ‘नेपालमा प्रारम्भिक वाल विकास इकोसिस्टमको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको छ ।

बाल अधिकार महासन्धि १९८९, संयुक्त राष्ट्र संघ दीगो विकास लक्ष्य २०३०, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात गर्दै नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रारम्भिक वाल विकासको मौलिक अधिकारलाई सुनिश्चित गर्न पूर्वाञ्चल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वय गर्ने घोषणापत्रमा सङ्कल्प गरेको छ ।

संघीय, प्रादेशिक र स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी प्रारम्भिक बाल विकास सम्बन्धी प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यको नेतृत्व लिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा प्रारम्भिक बाल विकासको बहुआयामिक पक्षलाई प्राथमिकता दिँदै नीति एवम् कार्यक्रमिक पक्षमा वकालत तथा सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै, प्रारम्भिक बाल विकाससम्बन्धी नवीनतम सोच, प्रविधि र ज्ञानको प्रवर्द्धन गर्न स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी लगायतका शैक्षिक कार्यक्रमहरु मार्फत दक्ष मानव स्रोत विकासमा अग्रणी भूमिका खेल्ने र विश्वविद्यालयमा एक अन्तर्राष्ट्रिय स्तरको प्रारम्भिक बाल विकास सम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।

पूर्वाञ्चल विश्वविद्यालय कला संकायले आयोजना गरेको सम्मेलन शुक्रवार र शनिवार चलेको थियो । सम्मेलनमा साढे तीन दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रस्तुत भएका थिए ।

मुख्य वक्ताको रुपमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुणा उप्रेती, किर्सटेन हुगेन, प्राध्यापक लोरेन वेब्राइटले प्रारम्भिक वाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राखेका थिए ।

१२ वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा विज्ञहरूले छलफल गरेका थिए । सम्मेलनमा नेपाल, भारत, वंगलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, वेलायत लगायतका देशबाट आएका प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषयविज्ञ, चिकित्सक, विद्यार्थी सहित तीन सयभन्दा बढीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *