बेग्लाबेग्लै दुर्घटनामा १० जनाको ज्यान गयो
कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बससँग ठोक्किएर क्षतिग्रस्त भएको कार ।
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । झापा, सुनसरी, उदयपुर, नवलपरासीलगायत जिल्लामा भएका दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।
सुनसरीको इनरुवा,नगरपालिका–६ भोटेपुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँका ९३ वर्षीय अमरबहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से आर्मी ब्यारेक अगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र ०१ ००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट पैदलयात्री स्थानीय ५० वर्षीय परनशेर राईको शनिबार मृत्यु भएको छ ।
कपिलवस्तु, शुद्धोधन गाउँपालि-३ गुलरीस्थित सडकमा लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा बा १४ च ७४४८ नम्बरको कारमा सवार २ जनाको मृत्यु भएको छ ।
झापाको् कन्काई नगरपालिका–८ लक्ष्मीपुर पूर्व बस स्ट्याण्डस्थित सडकमा बिर्तामोडबाट सुरूङ्गातर्फ जाँदै गरेको ना ४ च ४०८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री ६५ वर्षीय गर्बसिंह राईको शनिबार मृत्यु भएको छ ।
प्रहरीका अनुसार नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–११ जमुवाडस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
नवलपरासी पश्चिम, रामग्रामको रक्सहवास्थित सडकमा ना२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका(१७ पटखौली बस्ने ५२ वर्षीय भोनु प्रसाद केवटको मृत्यु भएको छ ।
यस्तै, जनकपुर उपमहानगरपालिका–१९ थुमौनास्थित सडकमा ज ११ प ६८५६ नम्बरको मोटरसाइकल र स ८ प ३४७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा स८ प ३४७७ नम्बर मोटरसाइकलका चालक सबैला नगरपालिका–२ का ५५ वर्षीय नारायणप्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा नम्बरको नखुलेको गाडीले ज २ प ७९९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको औरहीका २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ ।
यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ इमलिप्रतिस्थित आरएमसी मेटल कम्पनीभित्र प्र २ ००१ क १०४३ नम्बरको क्रेनको ठक्करबाट सोही कम्पनीमा काम गर्ने सर्लाही घर भएका ५२ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको छ।
