कांग्रेस कोशी भेला : नेताहरूद्वारा एकअर्काप्रति कटाक्ष
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन आज शनिबार विराटनगरमा सुरु हुँदा नेताहरुले एकअर्काप्रति कटाक्ष गरेका छन् । कतिपयले नेताहरु सही बाटोमा अघि बढ्न नसकेको आरोप लगाए भने केहीले सबैलाई समेट्न नसकेको गुनासो पनि गरे ।
कांग्रेस नेता सशांक कोइरालाले पार्टीका नेताहरु गलत बाटोमा हिँडेको बताए । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु ठिक बाटोमा नहिँडेको बताएका हुन् ।
‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटि आफैँलाई निरीक्षण गरेर भनौं, हामी ठिक बाटोमा हिँडिरहेका छौं कि छैनौं, उनले भने, ‘मलाई त लाग्छ ठिक बाटोमा हिँडिरहेका छैनौं, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’
नेता कृष्णप्रसाद सिटौलाले नेता शेखर कोइरालाले प्रदेश समितिको पहिलो सम्मेलन बहिष्कार गरेको विषयमा असन्तुष्टि व्यक्त गरे । शेखर कोइरालाले सम्मेलन छाड्दा दुःख लागेको उनले बताए ।
‘मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो, के कारणले छाड्नुपर्ने हामीलाई थाहा हुन्थ्यो, हामी निर्णयमा पुग्न सक्थ्यौं,’ उनले भने, ‘केन्द्रीय समितिमा राखे पनि हुन्छ । त्यहाँ छलफलको विषय बन्छ, विधानले समाधान दिने हो, कुरा के हो त प्रष्टसँग हामी सबैले थाहा पाउने गरी राख्नु उचित हुन्छ ।’
महामन्त्री गगन थापाले पार्टीमा सबैलाई ठाउँ चाहिने बताए । उनले नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानु पर्ने उल्लेख गरे । ‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ उनले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ, सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौं नि त ।’
उनले डाक्टर शेखर कोइरालाले विराटनगरमा आयोजना गरेको गुट भेलाका विषयमा असन्तुष्टि जनाए । अन्य क्षेत्रमा भेला गर्न पाउने बताउँदै उनले पार्टीले संयोजन नगरी कार्यक्रम गर्न नहुने बताए ।
प्रदेश भेला छाडेर कोइराला चितवनतिर
नेता डा. कोइरालाले आफ्नै प्रदेशको सम्मेलन ‘बहिष्कार’ गरेका छन् । गृहनगरमा पार्टीको भेला भइरहँदा कोइराला भने शनिबारै चितवन गए । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी भएको उनको सचिवालयले जनाएको छ ।
वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएको उनीनिकट स्रोतले जानकारी दिएको छ । मञ्चमा सभापतिपछिको वरीयतामा आफू हुनुपर्ने उनको माग भए पनि पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राख्ने तयारी भएपछि कोइराला प्रदेश सम्मेलनमा सहभागी नहुने भएका हुन् ।
नेता कृष्ण सिटौला नजिकका उद्धव थापा पार्टीको कोशी प्रदेश सभापति छन् । केन्द्रीय वरीयतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् । कोइराला शनिबार पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी भएको जनाइएको छ ।
मंसिर १८ गते कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ । विराटनगर आएका सभापति देउवाले भने उक्त भेलाबारे पत्रकारहरुले राखेको जिज्ञासामा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
