समताका विद्यार्थीबीच ‘मौलिक पहिरन उत्सव’

इलाम । ‘परम्परा र पहिचानः सांस्कृतिक पहिरनको सम्मान’ भन्ने नाराका साथ समता स्कुल पूर्वी कन्सर्टियमको पहलमा इलामसहित पूर्वी नेपालका समता स्कुलहरूले २०८१ सालको मौलिक पहिरन उत्सव उत्साहका साथ मनाएका छन्।

उत्सवका क्रममा विद्यार्थीहरू आफ्ना धर्म, समुदाय, र संस्कृतिलाई प्रतिनिधित्व गर्ने मौलिक पोशाकमा विद्यालय उपस्थित भएका थिए। उनीहरुको यस्तो उपस्थितिले विद्यालयलाई विविधताले भरिएको सांस्कृतिक मेलास्थल जस्तो बनाएको थियो।

समता पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठले नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्दै विविधतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको बताए। इलामलगायत पूर्वका अन्य समता स्कुलहरूले पनि यो उत्सव हरेक वर्ष एउटै मितिमा मनाउने परम्परा रहेको उनले बताए ।

त्यस अवसरमा विद्यार्थीहरूले साकेला, सेलो, धिमे लगायतका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरे। समता स्कुल इलामका प्रिन्सिपल देवेन्द्र पौडेलले यो उत्सवले विद्यार्थीहरूको व्यावहारिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *