हिमपात र वर्षाको सम्भावना, चिसो बढ्दै
इलामको सन्दकपुर क्षेत्रमा भएको हिमपात । फाइल तस्बिर
काठमाडौँ । मौसमी प्रणालीमा हुने फेरबदलका कारण भोलि आइतबार र पर्सि सोमबार वर्षा तथा हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ ।
महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर यो जानकारी दिएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एकदुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । यस अवधिमा वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

