सुदूरपश्चिमसँग विराटनगर पराजित
काठमाडौँ । कीर्तिपुरस्थित टियू क्रिकेटमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको छ । विराटनगर किंग्सको यो दोस्रो हार हो । विराटनगर २ खेल खेल्दै अंकविहीन भएको छ । सुदूरपश्चिम पहिलो खेलमा जित निकाल्दै २ अंक जोड्न सफल भयो ।
आज मंगलबार भएको पहिलो खेलमा टस जितेर विराटनगरले सुदूरपश्चिमलाई पहिलो ब्याटिङको मौका दिएको थियो ।
पहिलो ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल खडा गरेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रन, ब्रेन्डन मक्मेलनले ३६ रन, विनोद भण्डारीले २३ रन, इशान पाण्डेले २१ रन र सेफ जेबले १४ रन बनाएका थिए ।
बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट, इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । विराटनगरले पाएको १ सय ८३ रनको बलियो लक्ष्य भेटाउने क्रममा १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९२ रनमै सीमित भयो ।
बसिर अहमदले २४ रन, राजेश पुलामीले १५ र अनिल खरेलले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङमा सुदूरपश्चिमका अविनाश बोहोरा र स्कट कुगेलेनले समान ३–३ विकेट तथा सेफ जेब, इशान पाण्डे र ब्रेन्डन मक्मलेनले समान १ विकेट लिए । प्लेयर अफ द म्याच सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी भए । आजको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।
