चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए ।
काठमाडौँ गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डौथवेटले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो ।
काठमाडौँका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डौथवेटले १९ रन बनाए । चितवनका विदेशी खेलाडी सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १–१ विकेट लिए ।
एनपीएलमा आज दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् ।
