गाडीको ठक्करले सशस्त्र प्रहरीका सइको मृ*त्यु
सिरहा । मदिरा तस्करी गर्ने गाडीले ठक्कर दिँदा आइतबार बिहान सशस्त्र प्रहरीका सइ (नायव निरीक्षक) को मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका–१ कचनारीमा गाडीले ठक्कर दिँदा सइ लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई ठक्कर दिने गाडीको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार मदिरा तस्करी गरिरहेको सूचनाका आधारमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाडी रोक्न खोजेको थियो । ड्युटीमा रहेका प्रहरीलाई ठक्कर दिएर गाडी भारततिर भागेको उनले बताए ।
गाडीको खोजतलास तीव्र पारिएको उनको भनाइ छ । भारतको विहारमा मदिरा प्रतिबन्ध छ । तर, मधेस प्रदेशका सिमावर्ती क्षेत्रबाट मदिरा बिहारतिर तस्करी हुन्छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सशस्त्रका सइलाई ठक्कर दिएको गाडी पनि मदिरा तस्करीमा प्रयोग हुँदै आएको खुलेको छ ।
