कोशी र कर्णालीका केही स्थानमा आज हिउँ पर्ने
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहँदा जाडो बढेको छ । तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने गरेकाले चिसो बढ्दै गएको छ । सामान्यतयाः दिउँसोको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने देखिए पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
२४ घण्टाका लागि मौसविज्ञहरले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले पर्यटन तथा पर्वतारोहणमा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।
