चार महिनामा झण्डै २ अबैको अलैँची निर्यात

काठमाडौँ । पूर्वी पहाडी जिल्लाको उच्च मूल्यवान उत्पादन अलैँची उत्साहजनक रुपमा निकासी भएको छ । पछिल्लो चार महिनाको अवधिमा करिब दुई अर्ब रुपैयाँ बराबरको अलैँची विदेश निर्यात भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको हो।

भन्सार विभागका अनुसार सबैभन्दा बढी भारतमा निर्यात भएको छ । भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख पाँच हजार ९०० किलो अलैँची निर्यात भएको विभागले जनाएको छ ।

फान्समा ७ लाख २० हजार रुपैयाँको २४० किलो अलैँची निर्यात भएको छ भने एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागले जनाएको छ ।

अलैँची सबैभन्दा बढी उत्तरपूर्वी हिमाली जिल्ला ताप्लेजुङमा उत्पादन हुने गरेको छ । त्यस्तै, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा पनि अलैँची उत्पादन हुँदै आएको छ ।

यो वर्ष अलैँचीले राम्रो मूल्य पाइरहेको छ । एक दशकयताकै उच्च मूल्य पाएपछि अलैँची उत्पादक र व्यवसायी उत्साहित भएका छन् । गत साता प्रतिमन (४० किलो) अलैँचीको मूल्य एक लाख हाराहारी पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *