सुपर काबेली ‘ए बाट १३.५ मेगावाट बिजुली थपियो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बनाइएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी बनाइएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट छ ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

सिरिजङ्घा–८ याम्फुदिनको राते खोलामा बनाइएको विद्युत गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ ।

यो आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजनाको लागत करिब दुई अर्ब ६३ करोड २९ लाख रुपैयाँ भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *