एनपीएल आजदेखि : विराटनगर किङग्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) शाज शनिबार सुरु हुँदैछ । काठमाण्डौको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने विशेष कार्यक्रमका बीच लिग सुरु हुने भएको हो ।
उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका छ ।
एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विराटनगर किङ्ग्स
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्ग्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले गरेका छन् ।
कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीकाअनुसार आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।
विराटनगरले विदेशी खेलाडीको रूपमा पाँच जना खेलाडीलाई अनुबन्ध गरेको छ । न्यूजिल्यान्डका मार्टिन गप्टिल यही टिमबाट खेल्दैछन् । यस्तै अफगानिस्तानका इस्मात आलमसहित ओमनका अकिब इल्यास, क्यानडा निकोलस किर्तोन र स्कटल्यान्डका क्रिस सोल पनि विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् ।
विराटनगरमा स्वदेशी खेलाडीको रूपमा प्रतिश जिसी, बसिर अहमद लोकेश बम लगायत परिचित खेलाडी समावेश छन् । यस्तै जितेन्द्र मुखिया, सुवास भण्डारी, राजेश पुलामी मगर, अनिल खरेल, दीपक बोहरा, नरेन भट्ट र मिर्नाल गुरुङलाई पनि विराटनगरले अनुबन्ध गरेको छ ।
विराटनगरले ब्राण्ड एम्बासडरको रूपमा दयाहाङ राई र फेस अफ विराटनगर भनेर गायिका रचना रिमाललाई नियुक्त गरेको छ । एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । विराटनगर किङ्ग्सको मुख्य प्रशिक्षकमा केभिन ओ ब्रायन छन् छन् ।
जनकपुर बोल्ट्स
मधेश प्रदेशको राजधानी जनकपुरको नाममा नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्ट्स बनेको छ । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर आसिफ शेखले टिमको नेतृत्व गर्दैछन् ।
उनीसँगै राष्ट्रिय टोलीकै अर्का ओपनर तथा विकेटकिपर अनिल शाह छन् भने स्पीनर ललित राजवंशी पनि टिममा समावेश छन् । नेपाल प्रिमियर लिगको उपाधि जिते जनकपुर बोल्ट्सले आफ्ना खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
यस्तै फाइनल पुगेमा खेलाडीलाई ५० हजार रुपैयाँ दिने जनकपुरको अर्को घोषणा छ । मुख्य प्रायोजक एनडीए इन्टरनेसनलसँगको सम्झौतामा जनकपुरले खेलाडीका लागि पनि पुरस्कार दिने घोषणा गरेको हो ।
‘एनपीएलका लागि जनकपुर बोल्ट्समा आबद्ध हुने मौका पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो, एनडीएका प्रबन्ध निर्देशक अनुप घिमिरेले भन्नुभयो, ‘हाम्रो कम्पनी नेपालमा व्यवसाय गरी गुणस्तरीय उद्पादनसहित आएको छ, पछिल्ला केही वर्षमा यसले ठूलो इभेन्टसँग पनि आबद्ध हुँदै आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथ हामीलाई ठूलो प्लेटफर्म हुनेछ ।’
