१३ वर्षीय बालकले गरे ८२ वर्षीया हजुरआमाको हत्या

विराटनगर । एक १३ वर्षीय बालकले ८२ वर्षीया वृद्धाको हत्या गरेका छन् । घटना ओखलढुंगाको हो । बालकले खिजीदेम्बा गाउँपालिका-६ की ठगमाया सुनुवारको हत्या भएको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार ठगमाया मंसिर ६ गते आफ्नै भान्सा कोठामा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा हत्यामा ठगमायाकै नाति नाता पर्ने १३ वर्षीय बालकको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । वृद्धाले मादक पदार्थ सेवन गरेर अपशब्द बोल्दै गाली गरेपछि बालकले फलामको ढुंग्रोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता दाहालले बताए ।

सधैं बिना कारण गाली गर्ने र पिट्ने गरेको भन्दै सहन नसकेर ढुंग्रोले हानेको बालकले प्रहरीसमक्ष बताएका छन् । ढुंग्रोले ३ पटक प्रहार गरेपछि वृद्धा ढलेको उनले बताएका छन् ।

ती बालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *