यो वर्ष मंसिरसम्म विदेशमा ४७७ नेपालीले ज्यान गुमाए
फाइल तस्बिरः सरल पत्रिका
काठमाडौँ । रोजगारी र अवसरको खोजीमा विदेश गएका ४७७ जना नेपालीको विदेशमै मृत्यु भएको छ । यो संख्या चालु आर्थिक वर्षको मंसिर पहिलो सातासम्मको हो ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा ५३९ जनाको मृत्यु भएको थियो । उक्त आर्थिक वर्षभर गरी एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए ।
कामका सिलसिलामा हुने दुर्घटना तथा विभिन्न रोगका कारण उनीहरुको ज्यान गएको बोर्डको भनाइ छ । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात र अन्य विभिन्न कारणले मृत्यु हुने गरेको छ ।
नेपालीहरु मुख्यतः रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् । संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि १११ वटा देश खुला गरिएको छ । व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ मुलुक खुला गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।
