पूर्व मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ। विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित ५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। भ्रष्टाचार मुद्दामा पूर्वमेयर गंगा पासवानलगायत दोषी ठहर भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई विशेषले दोषी ठहर गरेको हो।

नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेर आर्थिक हानि–नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध २०८० चैत १४ गते मुद्दा दायर भएको थियो।

मुद्दामा मंगलबार र बुधबार सुनुवाइ भएको थियो। सुनुवाइ सकिएसँगै विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार फैसला सुनाएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अख्तियारले बिगो दाबी गरेको १ करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसलासमेत भएको छ। भ्रष्टाचारी ठहर भएकाको सजाय निर्धारणको समय भने आगामी मंसिर १० गतेलाई तोकिएको हुने उनले बताए।

उच्च अदालत जनकपुरको राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दिएको आदेशविपरीत कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।

मेयर पासवानसहितले भवन निर्माणको प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो। नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान हुँदा कार्यालय स्थानान्तरणको प्रक्रिया अधुरै थियो।

यसले सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको ठहर अदालतको छ। नगरपालिकाको केन्द्र परिवर्तनको निर्णय नगरिकन वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *