सविताको ‘पिरामिड्स अफ लेक्सिकल रिपल्स’ दिल्लीमा सार्वजनिक
विराटनगर। भारतको नयाँ दिल्लीमा विराटनगरकी सर्जक सविता गौतम दाहालको कविता संग्रह ‘पिरामिड्स अफ लेक्सिकल रिपल्स’ सार्वजनिक गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा भारतीय सर्जक अजीत कौरप्रति समर्पित उक्त कृति सार्वजनिक गरिएको हो। नेपाली कविताहरुको उक्त संग्रहमा भएका कविता प्रा. डा. अभि सुवेदीले अनुवाद गरेका हुन्।
उक्त कृति नदी सफाइ अभियानका अगुवा बलवीर सिंह सेचवाल, अभिन्यता र विनीत कोठारीले संयुक्त रुपमा सार्वजनिक गरे। ६५ औँ फोसवाल लिटरेचर फेस्टिभलका अवसरमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो।

कार्यक्रमको आयोजना ‘फाउण्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर’ ले गरेको थियो। यसैगरी, एकेडेमी अफ फाइन आर्टस् एण्ड लिटरेचरको कार्यक्रममा सहकार्य थियो।
आइतबार सुरु भएको महोत्सव बुधबारसम्म सञ्चालन हुनेछ। महोत्सवमा सर्जक दाहालसहित नेपालबाट विधान आचार्य, नेत्र एटम, रितुराज सुवेदी, अभय श्रेष्ठ, नाज सिंह, चन्द्र गुरुङ लगायतको सहभागिता छ।

फोसवालका अध्यक्ष अजीत कौरद्वारा उद्घाटन स्वागत मन्तव्य प्रस्तुत भएको कार्यक्रममा अतिथिका रुपमा पञ्जाबमा नदी सफाइ अभियानका अगुवा बलवीर सिंह सेचवाल, अभिन्यता एवं कवि डा. तारा गान्धी भट्टाचर्जी, एमएल लाहोटी, अनिल सूद, कमल कश्यप लगायतको सहभागिता थियो।
महोत्सवमा भारतीय प्राध्यापक शेपर रसूल, डा. अनामिका, डा. वनिता, अरुन्धति सुब्रमण्यम, श्रीलंकाकी डा. थमिरा मन्जु र नेपालका विधान आचार्य लगायतलाई सार्क लिटेररी अवार्ड प्रदान गरियो।



