‘मायालुका लागि समय निकाले जस्तो मेरालागि कविता’

सविता गौतम दाहाल मनमोहन प्राविधिक विश्वविद्यालयमा रसायनशास्त्र विषय अध्यापन गर्छिन् । यसबाहेक उनको परिचय सरल तर प्रभावशाली कविता सर्जकका रूपमा पनि स्थापित छ ।

साहित्यका सबैजसो विधामा रूचि भए पनि मुख्यरुपमा कविता उनको मनपर्ने विधा हो । लामो समयदेखि कविता सिर्जना गरिरहेकी उनका तीनवटा कृति प्रकाशित भइसकेका छन् ।

विराटनगरमा हुने साहित्यिक कार्यक्रम होस् वा प्रदेश १ का अरू ठाउँ, उनको सहभागिता हुने गर्छ । भारतमा हुने सार्क साहित्यिक सम्मेलनमा पनि उनी सहभागी भइसकेकी छन् । काठमाडौंमा उनको एकल कविता वाचन कार्यक्रम पनि भइसकेको छ ।

कविताबारे उनको गजबको धारणा छ । भन्छिन्, ‘कहिले प्रेमिका हुन पुग्छु र प्रेमको अथाह समेट्न कविता आइपुग्छ । कविता मेरो प्रेम हो, पर्खाइ हो, कोमलपनको प्रस्तुति हो, मेरो खुसी हो, मेरो उडान हो, आकाश हो ।’

प्रस्तुत छ, कविता अनि उनको सिर्जना कर्मबारे गरिएको कुराकानी–

के गर्दै हुनुहुन्छ अचेल ?

दैनिकी यथावत चलिरहेको छ, विहानै उठ्ने व्यायाम गर्ने, पूजा गर्ने, काममा जाने, साँझमा लेख्ने, लेखेकोमा काम गर्ने ।

कामको धपेडीका बीच साहित्य सिर्जनामा निरन्तर सक्रिय हुनुहुन्छ, कसरी ?

फुरे पछि लेख्छु, कहिले राति उठेर त कहिले बिहानै, कहिले कुनै कार्यक्रममा बसेको वेला त कहिले गाडीमा गुडिरहेको बेला, बस् जसरी नि टिप्छु अनि समय मिलाएर त्यसमा काम गर्छु । मायालुका लागि समय निकाले जस्तो, कविता मेरो प्राथमिकता हो ।

साहित्यको कुन विधामा बढी रुचि छ ?

कविता लेख्छु, सबै विधाका राम्रा रचना पढ्छु, सुन्दर भाषामा लेखिएको कुरा मन पर्छ, भाषाको मायामा परेकी छु ।

अरु विधामा पनि केही सिर्जना गर्दै हुनुहुन्छ ?

छन्, तर अहिले कवितामा नै केन्द्रीत छु।

कविता नै किन रोजाइमा परेको हो ?

खै, त्यो त तपाईं मान्छे कसरी बन्नु भो जस्तो भयो, अरु प्राणी किन बन्नु भएन ?

‘वस् प्यार हो गया’ भने जस्तो, मन पर्यो ।

कस्ता विषयमा बढी कविता लेख्नुहुन्छ ?

समसामयिक नै हो । वरिपरिकै विषय, माया, मिलन, विछोड, देश, परिवेश, मान्छेका रंग यस्तै यस्तै ।

तपाईंका लागि कविता वास्तवमा के हो ?

कहिले एकदम कोमल हुन पुग्छु र मलाई भत्कनबाट जोगाउन कविता आइपुग्छ, कहिले एकदम सुक्ष्म हुन्छु, हराउनबाट बचाउन कविता आइपुग्छ । कहिले खुसी हुन्छु, कहिले दुःखी हुन पुग्छु, सामान्य बनाइराख्न कविता आइपुग्छ । कहिले प्रेमिका हुन पुग्छु र प्रेमको अथाह समेट्न कविता आइपुग्छ । कविता मेरो प्रेम हो, पर्खाइ हो, कोमलपनको प्रस्तुति हो, मेरो खुसी हो, मेरो उडान हो, आकाश हो ।

यो मेरो चैन हो, समर्पण हो । मैले मेरो मायालुलाई दिने मेरो मन हो, मुटु हो, मेरो सम्पूर्ण आर्जन हो । मैले गरेको प्रेम, ऐना बनेर कविताले देखाउँछ, मैले देखेको देश, मैले हिँडेको बाटो, मैले चढेको रिक्सा, मैले देखेको पागल, मैले पाएको आशीर्वाद, मैले भोगेको बेवास्ता, मैले भेटेका साथी, मैले भोगेको समय, मेरो मातृत्व, सबै सबै ऐना बनेर कविताले देखाएको छ ।

कविता मेरो आर्जन, बाँड्न चाहन्छु । कविता म बाँचेको समयको फोटो, देखाउन चाहन्छु ।

सिर्जनाका लागि कुन समय उत्तम हो तपाईंका लागि ?

त्यस्तो निश्चित छैन तर राति सुत्नु अघि र बिहान उठ्नेबित्तिकै धेरै लेखेकी छु ।

तपाईंलाई मन पर्ने आफ्नै सिर्जना कुन मान्नुहुन्छ ?

‘अन्तिम आकाश’ संग्रहका कविता मन पर्छन् । सबै आफूले जन्माएको हुन्छ, मन पर्छ, माया लाग्छ ।

नेपालका कवि, साहित्यकारमध्ये को बढी मन पर्छ ?

सबैका आ–आफ्ना स्वाद हुन्छन् । सबै स्वादका पढ्छु र रमाउँछु ।

अनि विश्व साहित्यका ?

अमृता प्रितम, माया एन्जेलो, सिल्भिया प्लाथ लगायतका कविता मन पर्छ । सार्लाेट व्रन्टे, मार्खेज, रविन्द्रनाथ आदि थुप्रै छन् । नयाँमा युवाल नोहा हरारी, मार्क मयान्सन लगायतका किताबले छोयो ।

रुचिका अरु विषय के के छन् ?

यात्रा मन पर्छ, नयाँ कुरा गर्न मन लाग्छ । थुप्रै विषय छन् मन पर्ने।

तपाईंको बुझाइमा जीवन के हो ?

लागिरहनु, लेखिरहनु, नरोकिनु जीवन हो।

जीवनमा सबैभन्दा बढी खुसी भएको क्षण ?

मन परेको मान्छेसँग हातमा हात जोडेर हिँडेको क्षण, छोराछोरीको रचना राष्ट्रियस्तरका प्रकाशनमा छापिएको क्षण ।

अनि दुःखको कुनै क्षण सम्झनुहुन्छ ?

जीवन आधा हुँदाको क्षण ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *