कोशीका केही स्थानमा वर्षा, पहाडी क्षेत्रमा मौसम बदली
विराटनगर । कोशी प्रदेशका एक–दुई स्थानमा शनिबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले कोशीसहित देशका पहाडी भू–भागमा आंशिक बदली भएको हो ।
त्यसैको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने छ ।
