घट्यो धान-चामल आयात
काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा धान र चामल आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष सुरुदेखि असोजसम्म १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । उक्त अवधिमा ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ ।
गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । त्यस अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागले जनाएको छ ।
समग्र आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको तथ्याङ्क छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ ।
