रवि लामिछाने थप १० दिन थुनामै रहने
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागेको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएका हुन् ।
लामिछाने सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा छन् । उनलाई प्रहरीले आज मंगलबार दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले कात्तिकको २ गते लामिछानेलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याएको हो । सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले उनलाई पोखराबाट बुटवल लगिने भएको छ ।
हिरासतमा रहेका लामिछानेको समर्थनमा पोखरामा उनका समर्थकले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
