सुन र पैसाका लागि आफ्नै आमाको हत्या
काठमाडौँ । काभ्रेका एक युवकले गहना लुट्नका लागि आफ्नै आमाको हत्या गरेको खुलेको छ । रोशी गाउँपालिका–३ का २८ वर्षीय फुर्साङ लामाले ७९ वर्षीया आमा माइली लामाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
उनले कात्तिक १६ गते कान्छा छोरा फुर्साङले आमाको हत्या गरेको काभ्रेकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् । भान्सा कोठामा सुतिरहेका बेला मसला पिस्ने लोहोरो, सिलौटो र ढोकाको आग्लो प्रहार गरेर आमाको हत्या गरेको पाइएको उनले उल्लेख गरिन् ।
हत्यापछि आमाले कानमा लगाएको सुनको गहना र साथमा भएको नगद लिएर फुर्साङ फरार भएका थिए । घटनाको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानमा उनले सुन र पैसाको लोभमा आमाको हत्या गरेको स्वीकारेका छन् ।
जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी फुर्साङविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
