झापा, मोरङ र सुनसरीमा दुर्घटना : ३ जनाको मृत्यु
विराटनगर । मोरङ, सुनसरी र झापामा सोमबार भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० पवित्र चोकस्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ४०१३ नम्बरको बस र उर्लाबारीबाट आमबारी आउँदै गरेको प्रदेश १–०१–०१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–५ २८ वर्षीय सन्देश गौतमको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । मोटरसाइकल पछाडि सवार सन्देशका बुवा ५० वर्षीय गोपाल गौतम घाइते छन् ।
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४५ वर्षीय लोकबहादुर पौडेलको मृत्यु भएको छ । पैदलयात्रीको मृत्यु भएको छ । पकलीबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ६६६२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, झापाको कनकाई नगरपालिका–५ चप्रमारीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले बिहान ११ बजेतिर ठक्कर दिँदा बालकको मृत्यु भएको छ । मे ११ प ३३८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विनोद पाठकका छोरा ७ वर्षीय सोहन पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
