रवि लामिछानेलाई मंगलबार अदालत लगिँदै
फाइल तस्बिर
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिने भएको छ ।
म्याद थपका लागि उनलाई अदालत लगिने भएको हो । यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुनः अदालतमा उनलाई उपस्थित गराउने छ ।
प्रहरीले उनलाई पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोर्खा मिडिया ग्रुपका अर्का सञ्चालक छविलाल जोशी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनको बयान लिइसकेको छ । लामिछानेसँग पनि पहिलो चरणको बयान सकिएको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान लिने तयारी छ ।
