इन्द्रमोहन स्मृति गुठीद्वारा चार पुरस्कार घोषणा
विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई वर्षमा साहित्य, गीत सङ्गीत र पत्रकारिता विधामा दिएका योगदानका लागि प्रदान गरिने चार पुरस्कार र सम्मानको घोषणा गरेको छ ।
गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कविता र कथा विधामा दिएको योगदानका लागि कवि, कथाकार रुद्र ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी गुठीले यस वर्षको ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार, शब्दपथका प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई र ओम–इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती मोक्तानलाई समर्पण गर्ने निर्णय गरेको छ ।
तीनैवटा पुरस्कारको राशि जनही २५ हजार छ । कवि ज्ञवालीका निर्वासन, सपना फुल्ने रातहरू, विवरुका कथाहरू, उन्मुक्त आकाश, रुझेर अग्निवर्षामा, असल साथी, पात्रहरू, सीमान्त स्वर लगायत कथा, कविता, गजल र मुक्तक कृति प्रकाशित छन् ।
यसैगरी साहित्य सिर्जनासँगै, विद्युतीय सञ्चार माध्यम शब्दपथ अनलाइन पत्रिकामार्फत साहित्यिक सूचना सम्प्रेषण, कृतिहरूको समालोचना, समीक्षा र स्रष्टाहरूको रचना प्रकाशन र प्रसारण गरी साहित्य विधामा योगदान दिएका पहाडीका बाँच्नु र बाँचेकाहरू, घर खण्डहर, विशुदाइ, किम्वदन्ती, सर्वज्ञ र सेक्स, सहरमा बत्ती निभेका बेला लगायतका कथा कविता कृति प्रकाशित छन् ।
गीत तथा सङ्गीत क्षेत्रमा समर्पित मोक्तानका माथि माथि सैलुङ्गमा, धरान धनकुटा, गोठालो जाँदा, खुट्टा तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको लगायतका गीतहरू चर्चित छन् । यसैगरी यसै वर्षदेखि प्रदान गर्ने गरी स्थापना गरिएको डा. विमला साहित्य सम्मान कवि मञ्जुश्री गिरीलाई प्रदान गरिने भएको छ । सम्मान राशि १५ हजार छ । गिरीका अन्योल वसन्तको खोजीमा, लाखबत्ती र सपनाको सिरानी तीन कृति प्रकाशित छन् ।
गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठको उपस्थिति र गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको हो । पुरस्कारको संस्थापक कलाकार स्व. ओमकार श्रेष्ठ थिए । गुठीका सदस्य सचिव यज्ञ श्रेष्ठका अनुसार पुरस्कारहरु मंसिर १ एक गते विराटनगरमा सम्बन्धित स्रष्टाहरुलाई समर्पण गरिने छ ।
