संखुवासभामा टिपर दुर्घटना : २ जनाको मृत्यु
खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । दुर्घटनामा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार भारतीय नागरिक २९ वर्षीय सारुक महमदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ ।
टिपर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन् । गम्भीर अवस्थाका पासवानलाई खाँदबारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । पालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हु्न् ।
