रवि लामिछाने पक्राउविरुद्ध प्रदर्शन गर्ने नेता-कार्यकर्ता गिरफ्तार
काठमाडौँ । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको छ । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
विरोध प्रदर्शनमा सहभागी पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा पार्टीको काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टलगायत पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेको बुर्लाकोटीले बताए ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै रास्वपाले विरोध गरेको छ । सभापति लामिछानेलाई षड्यन्त्रपूर्वक गिरफ्तारी गरिएकाले त्यसको विरोधमा प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।
